काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। जेन–जी आन्दोलन र त्यसपछिको अस्थिरताले सहुलियत पसल सञ्चालनमा अन्योल बने पनि निषेधाज्ञा र कर्फ्यु हटेसँगै कम्पनीले सञ्चालन गर्ने निर्णय गरेको हो।
यस वर्ष ४५ जिल्लाका १११ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएको छ। उपभोक्ताले खाद्यका स्थायी बिक्री केन्द्र तथा अस्थायी आउटलेटबाट सामग्री किन्न सक्नेछन् भने अनलाइनमार्फत पनि खरिदको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सबै किसिमका चामल, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइनेछ। खाने तेल, आटा, मैदा र चिउरामा प्रतिकिलो/लिटर सात रुपैयाँ छुट र चिउरा तथा जिरा–धनियामा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ।
तर, सहुलियतमा खसीबोका र च्याङ्ग्रा बिक्री भने अनिश्चित बनेको छ। स्थानीय तहको समन्वय आवश्यक पर्ने भएकाले पछिल्लो परिस्थितिमा एक–दुई दिन प्रतीक्षा गर्नुपर्ने कम्पनीले जनाएको छ।
खाद्यले यसअघि खसीबोका र च्याङ्ग्राको अग्रिम अनलाइन बुकिङ थालेको थियो। तर सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको र त्यसपछि जेन–जी आन्दोलनका कारण स्थानीय तहसँगको सम्पर्कसमेत टुटेकाले बिक्री सुरु गर्न ढिलाइ भएको कम्पनीले स्पष्ट पारेको छ।


































