काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार गत चैत मसान्तसम्म करदाताको संख्या कुल ६७ लाख ९९ हजार ८१५ पुगेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत, व्यावसायिक र अग्रिम कर कट्टीतर्फ गरी चैत मसान्तसम्म कुल पाँच लाख ७३ हजार ६८२ नयाँ करदाताले नयाँ स्थायी लेखा नम्बर (प्यान) लिएका हुन्।
चैतसम्मको अवधिमा व्यक्तिगत प्यान लिनेको सङ्ख्या ४७ लाख २८ हजार ७४४ पुगेको छ ।
व्यावसायिक तर्फ ९१ हजार ७३३ करदाता थपिएर कुल २० लाख ३५ हजार ८७४ पुगेको देखिएको छ । गएको असार मसान्तसम्म यो सङ्ख्या १९ लाख ४४ हजार १०१ थियो । अग्रिम कर कट्टी सुविधासहितको प्यान (डब्लु–प्यान) लिनेको सङ्ख्या एक हजार ८३९ मात्रै थपिएको छ।
करदाता दर्ता विवरण अनुसार मूल्य अभिवृद्धि करतर्फ १८ हजार ५६१ थपिएर तीन लाख ४५ हजार ९७८ पुगेको छ भने एक्साइजतर्फ छ हजार ८९६ थपिएर एक लाख २४ हजार २६४ पुगेको मन्त्रालयले प्रकाशन गरेको विवरणमा उल्लेख छ।


































