जेन–जी आन्दोलनपछि अहिले देश केवल राजनीतिक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि अनिश्चितताको अवस्थामा पुगेको छ। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सरकारी र निजी क्षेत्रका ठूला भवनहरूमा आगजनी गर्नुका साथै मूल्यवान सामग्रीहरू नष्ट गरेपछि लगानीकर्ताहरूको आत्मविश्वासमा ठूलो आघात पुगेको छ। परिणामस्वरूप, नयाँ लगानीकर्ता अहिले लगानी गर्न हिचकिचाइरहेका छन्, र पहिले नै लगानी गरेका व्यवसायीहरू पनि आफ्ना परियोजनालाई निरन्तरता दिने कि नदिने भन्ने द्विविधामा परेको देखिन्छ ।
लगानी वातावरणमा आएको यो अस्थिरता दीर्घकालीन रूपमा देशको समग्र आर्थिक संरचना, रोजगारी सृजनाको दर, र पूँजी प्रवाहमा गम्भीर असर पार्ने अनुमान गरिएको छ। यदि लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सकिएन भने औद्योगिक उत्पादनदेखि वित्तीय बजारसम्म सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्न सक्छ।
यी यथार्थपरक चुनौती र सम्भावित जोखिमहरूबारे बुझ्नका लागि आर्थिक भ्वाइसले पुर्बबैंकर तथा आर्थिक विश्लेषक भुवन दाहालसँग कुराकानी गरेको छ। प्रस्तुत छ त्यसै कुराकानीको सम्पादित अंश :
जेन्जी आन्दोलनका क्रममा धेरैजसो संरचना ध्वस्त हुनाले स्वाभाविक रूपमा लगानीकर्ताको आत्मविश्वास (investor confidence) मा ठूलो धक्का पुगेको छ। ती घटनापछि लगानीकर्ताहरूले नयाँ लगानी गर्नुअघि धेरैचोटि सोच्ने अवस्था सिर्जना भएको स्पष्ट छ।
आन्दोलन आफ्नो ठाँउमा हुन सक्छ, तर त्यसैको नाममा भएका तोडफोड, आगजनी र चोरीजस्ता अनियन्त्रित गतिविधिले देशको लगानी वातावरणमा नकारात्मक असर पारेका छन्। यस्तो अराजक व्यवहारले देशको आर्थिक विश्वसनीयता मात्र होइन, विदेशी र आन्तरिक दुवै लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।
वर्तमान अनिश्चित राजनीतिक परिस्थितिमा—विशेष गरी चुनाव नभएसम्म—ठूलो लगानी आउने सम्भावना न्यून देखिन्छ। साना लगानीहरू त निरन्तर भइरहने भए पनि ठूला उद्योग र परियोजनामा नयाँ लगानी गर्ने व्यवसायीहरू अहिले ‘wait and watch’ स्थितिमा छन्।
अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा निरन्तरता कायम गर्न कठिन भइरहेको छ। नयाँ लगानीकर्ताले जोखिम मापन गर्दा हेर्ने राजनीतिक स्थायित्व र नीतिगत स्पष्टता मुख्य मापदण्ड हुन्, जुन अहिले अस्पष्ट देखिन्छ।
यद्यपि अर्थमन्त्री अनुभवसम्पन्न र सक्रिय देखिएका छन्। उहाँले लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न केही पहलहरू गर्नुभएको देखिए पनि सरकारको समग्र विश्वसनीयता कमजोर देखिन्छ। जेनजी आन्दोलनका नेतृत्वकर्ता स्वयम् विभाजित भएकाले वर्तमान सरकार बलियो रूपमा उभिन नसकेको आंकलन व्यवसायीहरूले गरिरहेका छन्।
अब लगानीकर्ताको नजर आगामी सरकारमा केन्द्रित छ। चुनावपछि बन्ने सरकारले नीतिगत स्थिरता, भ्रष्टाचार नियन्त्रण, र लगानी अनुकूल वातावरण सिर्जना गर्न सके मात्र व्यवसायीको आत्मविश्वास पुनःस्थापित हुनेछ। हालको अवस्थाको समाधानका लागि सरकारले नीतिगत स्पष्टता, द्रुत निर्णय क्षमता, र निजी क्षेत्रसँगको विश्वसनीय साझेदारीमा ध्यान दिनु अत्यावश्यक छ।
हालको जटिल परिस्थितिमा एउटै मन्त्रीले तीन–चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको अवस्थाले सरकारी दक्षता र प्राथमिकतामाथि पनि प्रश्न उठाएको छ। जनतामा सरकारबाट ठूलो अपेक्षा भए पनि यस अवस्थाले लगानीकर्ताको मनोबल तत्काल उठ्ने संकेत दिएको छैन।
त्यसैले, अबको बाटो स्पष्ट छ — राजनीतिक स्थायित्व, नीतिगत पारदर्शिता, र निजी क्षेत्रप्रति सम्मानजनक व्यवहारले मात्र अर्थतन्त्रलाई पुनर्जीवित गर्न सकिन्छ।


































