काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को उक्त निर्णय मंगलबार मात्र गृह मन्त्रालयमा पुगेको प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए। अहिलेसम्म आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ। निर्णय अनुसार राहत पाउन प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पुष्टि आवश्यक पर्नेछ।
त्यस्तै, मन्त्रिपरिषद्ले आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने, असोज १ गते राष्ट्रिय शोक मनाउने र काठमाडौँमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।


































