काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि उपत्यकामा कडा निगरानी र कारबाही अभियान तीव्र बनाइएको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३६५ सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियम उल्लंघनका विभिन्न घटनामा संलग्न चालकहरूलाई कारबाही गर्दै २१ लाख ७७ हजार ५०४ रुपैयाँ राजस्व संकलन गरिएको छ।
कारबाही परेकामध्ये मापसे गरेर सवारी चलाउने ८८ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने २५८ जना, ट्राफिक संकेत बत्तीको अवहेलना गर्ने १५६ जना तथा तीव्र गतिमा सवारी चलाउने १७४ जना रहेका छन्।
त्यस्तै लेन अनुशासन नमान्ने १२३ जना, निषेधित स्थानमा हर्न बजाउने १२८ जना, फुटपाथमा पार्किङ गर्ने १२४ जना र एकतर्फी सडकमा सवारी चलाउने १६३ जनालाई पनि कारबाही गरिएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १२१ चालकमाथि समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।


































