काठमाडौं । नारायणगढ–बुटवल सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि १ वर्ष थप भएको छ ।
आयोजनाका अनुसार अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने छ ।
कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाले जनाएको छ ।
दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्ती छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।
आयोजनाका अनुसार दाउन्ने खण्डसमेत यसै हिउँदसम्म सक्ने लक्ष्य छ । त्यसपछि यो खण्डको यात्रा सहज हुने अपेक्षा छ ।

































