काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्।
आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिएका हुन्।
सिमित स्रोत साधनका बिच प्रहरीमा सीआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए।
प्रहरीभित्र सीआईबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि,जनशक्तिलगायतका विकास गरिनेमा जोड दिए। सो क्रममा सीआईबीका बरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायतका विषयमा प्रस्तुति राखेका थिए।
निर्मला पन्तलगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु , गृहमन्त्री लेखकले भने 'नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।'

































