काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध गर्ने व्यक्तिलाई अब दुई लाख रुपैयाँ जरिवाना हुन सक्ने भएको छ।
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारको अनुगमन गर्दै आउँदै गर्दा, कुनै दल वा उम्मेदवारको प्रचारकार्यमा अवरोध पुर्याएको उजुरी वा गुनासो प्राप्त भएको जनाएको छ। आयोगका अनुसार यसमा आम नागरिक, दलका कार्यकर्ता वा अन्य व्यक्तिहरूले विभिन्न तरिकाले हस्तक्षेप गरेको भेटिएको छ।
साथै, सञ्चारमाध्यमबाट समेत यस्ता घटनाहरूको जानकारी पुगेको आयोगले उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, चुनावी प्रचारप्रसारमा अवरोध पुर्याउने कार्य नीतिगत र कानुनी दृष्टिले पनि दण्डनीय रहेको छ।
आयोगले सबै पक्षलाई चेतावनी दिंदै भनेको छ – निर्वाचनमा उम्मेदवार बन्ने, प्रचारप्रसार गर्ने वा मतदान गर्ने अधिकार कसैको पनि रोक्न पाइने छैन्।

































