काठमाडौं । नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सञ्चित लगातार वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा यो रकम दुई खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ थियो । यसरी हेर्दा पछिल्लो आवमा एफडीआई सञ्चित १२.७ प्रतिशतले बढेको देखिन्छ ।
राष्ट्र बैंकका तथ्यांकअनुसार आव २०७८/७९ मा एफडीआई सञ्चित दुई खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ, २०७७/७८ मा दुई खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ र २०७६/७७ मा एक खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ थियो । पछिल्लो आवमा चुक्ता पूँजी ८.२ प्रतिशतले बढ्दै एक खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा यो रकम एक खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो । त्यस्तै, जगेडा कोष २२.७ प्रतिशतले बढेर एक खर्ब २२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा भने ५ प्रतिशत मात्र बढेर ४१ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
सञ्चित एफडीआईमा सबैभन्दा ठूलो हिस्सा चुक्ता पूँजीकै रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल एफडीआई सञ्चितमध्ये ५०.७ प्रतिशत चुक्ता पूँजी, ३६.७ प्रतिशत जगेडा कोष र १२.६ प्रतिशत कर्जाबाट बनेको छ ।
क्षेत्रगत हिसाबले विद्युत, ग्यास, स्टिम, एयरकण्डिसन र उत्पादन क्षेत्रमा सबैभन्दा धेरै लगानी सञ्चित भएको पाइएको छ । विद्युत र ग्यास क्षेत्रमा मात्रै ९८ अर्ब ३३ करोड रुपैयाँ, उत्पादन क्षेत्रमा ८६ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ । यी दुवै क्षेत्रले कुल एफडीआईको करिब ६० प्रतिशत हिस्सा ओगटेका छन् ।
त्यस्तै, आवास तथा खाना क्षेत्रमा २६ अर्ब ९० करोड, सूचना तथा सञ्चार क्षेत्रमा २१ अर्ब ७२ करोड, र वित्तीय क्षेत्रमा ८१ अर्ब ३९ करोड रुपैयाँ सञ्चित लगानी पुगेको तथ्यांकले देखाएको छ । वित्तीय क्षेत्र मात्रैले कुल एफडीआईको करिब २४ प्रतिशत हिस्सा ओगटेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षमा नेपालमा विदेशी लगानीको दायरा विस्तार हुँदै गएको छ । विशेषगरी ऊर्जा, उत्पादन र सेवा क्षेत्रमा लगानी बढ्न थालेसँगै एफडीआई सञ्चितले नयाँ उचाइ हासिल गरेको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।


































