काठमाडौं । पुँजी बजारमा लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या पनि निरन्तर बढिरहेको छ। केन्द्रीय निक्षेप सेवा तथा व्यवस्थापन कम्पनी लिमिटेड (सिडिएससी)को पछिल्लो तथ्यांकअनुसार शनिबारसम्म डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार नाघेको छ।
सिडिएससीका अनुसार डिम्याट खाता खोल्नेको तुलनामा ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या भने कम छ। हालसम्म ७१ लाख ८६ हजार प्रयोगकर्ता मेरो सेयरमा दर्ता भएका छन्।
१२४ डिपीमार्फत सेवा
सिडिएससीका अनुसार हाल १२४ वटा अनुमतिप्राप्त डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) रहेका छन्। डिपीमार्फत लगानीकर्ताले डिम्याट खाता खोल्नुका साथै निक्षेपसम्बन्धी सेवा प्राप्त गर्छन्।
त्यस्तै, सिडिएससीमा ९२ वटा रजिस्टर्ड क्लियरिङ मेम्बर, ४९ वटा रजिस्ट्रार तथा ट्रान्सफर एजेन्ट (आरटिए) र १२४ वटा मेरो सेयरमा दर्ता भएका डिपी रहेका छन्।
२८५ कम्पनी र ६९ म्युचुअल फन्ड
सिडिएससीको विवरणअनुसार हाल २८५ वटा कम्पनी दर्ता भएका छन्। त्यस्तै, ६९ वटा म्युचुअल फन्ड तथा ८१ वटा बन्ड तथा डिबेन्चर पनि सिडिएससीमा दर्ता छन्। बैंक तथा वित्तीय संस्थाको संख्या ४३ रहेको छ।
२० अर्ब ४४ करोडभन्दा बढी सेयर सूचीकृत
पछिल्लो विवरणअनुसार सिडिएससीमा कुल २० अर्ब ४४ करोड ६ लाख २१ हजारभन्दा बढी कित्ता सेयर सूचीकृत छन्। त्यसमध्ये १९ अर्ब ५४ करोड ४९ लाख ११ हजार कित्ता सेयर लगानीकर्ताको डिम्याट खातामा रहेको सिडिएससीले जनाएको छ।
पुँजी बजारमा सेयर तथा अन्य धितोपत्रलाई विद्युतीय रूपमा सुरक्षित राख्न डिम्याट खाता आवश्यक हुन्छ। सिडिएससीले धितोपत्रको केन्द्रीय निक्षेप, अभिलेख व्यवस्थापन तथा कारोबारको राफसाफसम्बन्धी काम गर्दै आएको छ।

































