काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार साढे तीन खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबरको व्यापार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.५४ प्रतिशतले बढी हो। गत आवमा सोही अवधिसम्म २ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ बराबरको व्यापार मात्र भएको थियो।
तीन खर्ब नाघ्यो आयात
दुई महिनामै ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले आयात गरेको छ। यो अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा आयात २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँमा सीमित थियो।
निर्यातमा ८८ प्रतिशतको वृद्धि
आयातसँगै निर्यात पनि उच्च दरमा बढेको छ। भदौ मसान्तसम्म ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८८.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा निर्यात २५ अर्ब ९ करोड रुपैयाँ मात्र थियो।
व्यापार घाटा नियन्त्रण
निर्यात वृद्धिका कारण व्यापार घाटा तुलनात्मक रूपमा कम दरमा बढेको विभागले जनाएको छ। भदौ मसान्तसम्म घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। कुल व्यापार २२.५४ प्रतिशतले बढ्दा पनि घाटा वृद्धि दर ८.५९ प्रतिशतमा सीमित भएको छ।
आयात-निर्यातको हिस्सा
कुल व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशत छ, जुन अघिल्लो वर्षभन्दा ५.१५ प्रतिशतले घटेको हो। निर्यातको हिस्सा १३.४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ५३.८८ प्रतिशतले बढेको छ। विशेष कुरा के छ भने, दुई महिनामा निर्यात रकम (४७ अर्ब ३१ करोड) इन्धन आयात (४५ अर्ब ३९ करोड) भन्दा बढी भएको छ।
प्रमुख आयात वस्तु
कच्चा सोयाबिन तेल : २१ अर्ब ६४ करोड
डिजेल : १४ अर्ब ९१ करोड
डीएपी मल : १३ अर्ब ६६ करोड
स्मार्टफोन : ९ अर्ब ४३ करोड
समूहगत हिसाबमा वनस्पति तेल दोस्रो ठूलो आयात समूह बनेको छ। त्यसपछि आइरन/स्टिल (२२ अर्ब ९७ करोड), इलेक्ट्रिकल मेसिनरी र पार्टपुर्जा (२२ अर्ब १६ करोड), सवारीसाधन (१७ अर्ब २२ करोड) र औषधिजन्य सामग्री (७ अर्ब १० करोड) रहेका छन्।
प्रमुख निर्यात वस्तु
सोयाबिन तेल : २० अर्ब ४२ करोड
कार्पेट : १ अर्ब ५८ करोड
सूर्यमुखी तेल : १ अर्ब ३८ करोड
पाम तेल : १ अर्ब ३१ करोड
निर्याततर्फ भने अमेरिका दोस्रो ठूलो बजार बनेको छ। नेपालले अमेरिकामा ३ अर्ब २१ करोड रुपैयाँ बराबरको सामान पठाएको छ भने त्यहाँबाट ६ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र आयात भएको तथ्यांकमा उल्लेख छ ।
































