काठमाडौं । आज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच ओमनको मस्कटमा भेटवार्ता भएको छ ।
आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा पुगेकी परराष्ट्रमन्त्री डा देउवा र इरानी विदेशमन्त्रीबीच भेटवार्ता भएको हो।
उक्त भेटवार्तामा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको हो।
हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा देउवाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गरेकी थिइन्।
आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आस्वासन उनले दिएका थिए ।
सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गरेका थिए ।
































