काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै, लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनीसहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
त्यस्तै आइतबार देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

































