काठमाडौँ । अमेरिकको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासमा ०.३ प्रतिशतले घटेको छ। यो गिरावट पछिल्लो ३ वर्षयता पहिलो पटक देखिएको हो । यो गिरावटको प्रमुख कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिलाई मानिएको छ।
रिपोर्टले मार्चमा वस्तु व्यापार घाटा तीव्र रूपमा बढेको देखाएको छ। यसका कारण अधिकांश अर्थशास्त्रीहरूले आफ्नो जीडीपी अनुमान घटाएका छन्। चौथो त्रैमासमा भने अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले बढेको थियो । ट्रम्पको कार्यकालको पहिलो १०० दिन पूरा भएपछि आएको प्रतिवेदनले अमेरिकीहरू उनको आर्थिक नीतिलाई लिएर असन्तुष्टि रहेको संकेत गरेको छ ।
चर्को मूल्यबाट बच्न व्यवसायीले ठूलो परिमाणमा सामान आयात गर्दा अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेको जनाइएको छ । जीडीपी प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी शेयर बजारमा पनि गिरावट आएको छ । पछिल्ला केही महिनादेखि ट्रम्प सरकारको ट्यारिफ नीतिका कारण विश्वमा अनिश्चितता बढेको छ ।
धेरैजसो अर्थशास्त्रीहरूले ट्रम्पले विश्वव्यापी व्यापारमा ल्याउन खोजेका परिवर्तनहरूले अमेरिकामा मुद्रास्फीति र मन्दी ल्याउने सम्भावना रहेको बताएका छन्। लगातार दुई त्रैमासिकमा आम्दानीमा आएको गिरावटलाई मन्दी भनिन्छ।
तर, राष्ट्रपतिले यी आशंकालाई अस्वीकार गरेका छन् । उनले अमेरिका फेरि माथि उठ्ने तर यसका लागि बाइडेनको ह्याङ्गओभरबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘यसका लागि केही समय लाग्नेछ । यसको ट्यारिफसँग कुनै सम्बन्ध छैन। अहिलेको खस्कँदो आर्थिक अवस्था हामीले यो बाइडेनबाट पाएका हौं । तर हामी फेरि उठ्नेछौं । धैर्य गर्नुहोस्, हामीसँग कसैले प्रतिस्पर्धा गर्दैन ।’
पहिलो त्रैमासिकमा अमेरिकाको आयातमा ठूलो वृद्धि भएको छ । ट्रम्पको करबाट बच्न, अमेरिकी कम्पनीहरूले भारी आयात गरेका छन् । अघिल्लो वर्षको चौथो त्रैमासमा आयातमा १.९ प्रतिशतले कमी आएको थियो भने यो वर्षको पहिलो त्रैमासिकमा ४१।३ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात १.८ प्रतिशतले वृद्धि भएको छ ।
































