काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको हो।
आयोगका अनुसार आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
पहिलो हुने निर्वाचित प्रणालीतर्फ माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय तोकिएको थियो। उक्त दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उजुरी दर्ता गरिएको थियो। सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार साँझ ५ः०० बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला र १ जना अन्य रहेका छन्।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन्।

































