काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीको भूमिका रचनात्मक हुन नसकेको बताएका छन्।
मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका हुन् ।
प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रित भएको उनको भनाई छ ।
उहाँहरू आफूबाहेक सरकारको कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, कसरी झुटलाई फैलाउन सकिन्छ।
देशी–विदेशी तत्त्व सरकारलाई बदनाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए।
४६ सालको परिवर्तन पछि तीव्र विकासको बाटो अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले आफू सरकारमा रहँदा उल्लेख्य रूपमा विकासका काम भएको दाबी गरेका छन् ।
उनले देशको विकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रित भएको समेत उल्लेख गरेका छन् ।

































