काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिँदै शनिबार साँझ विशेष सम्बोधन गरेकी छन्।
अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको बताउँदै प्रधानमन्त्री कार्कीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्।
हाल देशका धेरै नदी–नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको छ र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना बढेको छ। यस्तो अवस्थामा उनले भनिन्,'यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन् ।'
प्रधानमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु चौबीसै घण्टा आपतकालीन सेवामा परिचालनमा रहेको बताइन्। उनले सरकार सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरेर स्थानीय तह र नागरिकसँग सहकार्यमा जुटेको जानकारी दिइन्।
महत्वपूर्ण राजमार्ग तथा पूर्वाधारको निगरानी भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्ग पुनः सञ्चालनमा ल्याइने बताइन्।
नागरिकलाई प्रत्यक्ष अपिल गर्दै उनले भनिन्,'तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्। अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानी वा पहिरोमा आवागमन नगर्नुहोस्।'
प्रधानमन्त्री कार्कीले डुबान वा पहिरो जोखिम क्षेत्रका बासिन्दालाई ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन आग्रह गरिन्। उनले प्रहरी र विपद् व्यवस्थापन निकायद्वारा जारी आधिकारिक चेतावनी र सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरिन्।
'तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरि चिन्ता हो, 'उनले भनिन्,'राज्यका सम्पूर्ण स्रोत आज तपाईंहरुसँग छन्। तपाईं यो कठिन समयमा एक्लो हुनुहुन्न।'
विपद् जोखिमको सम्भावना ध्यानमा राख्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको समेत उनले जानकारी दिइन्।
सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ । हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौँ र जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।
यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा रहेका छन् ।
यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस । प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरुलाई ध्यान दिनुहोस् । तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस् । सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


































