काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन्। भूपरिवेष्टित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज तुर्कमेनिस्तान जान लागेका हुन् ।
ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ। त्यस्तै उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै, प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री ओली साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ। सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।
उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनेछन् ।

































