काठमाडौँ । राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न देशका विभिन्न १८ जिल्लामा गृह मन्त्रालयले पाँच जना उपसचिवहरूको टोलीलाई खटाउने निर्णय गरेको छ।
सहरीकरणका लागि उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उपसचिव चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, उपसचिव परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु, दाङ, उपसचिव उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र उपसचिव टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको छ ।
सम्बन्धित जिल्लाहरूमा खटिएका उपसचिवहरूले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरण गर्नुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्दै आएका सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीका लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौट लगायतका प्रशासनिक कामहरू सम्पादन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन गई समग्र कार्यालयको काम कारबाही व्यवस्थापन गर्न समस्या परिरहेको भन्ने गुनासोहरू आएपछि उपसचिवहरूलाई सहरीकरणका लागि जिल्लामा खटाइएको गृह सचिव एकनारायण अर्यालको भनाई छ ।
गृह सचिव अर्यालको सचिव स्तरीय निर्णयबाट उनीहरूलाई जिल्लामा खटाइएको हो।


































