काठमाडौँ । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले बाँके जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेगरि जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।
स्थानीय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
साथै कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा चैत ५ गते हुनेछ भने ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ।
































