National life

बाँदरको व्यवसायिक पालन र मासु निर्यात गर्ने नेकपाका उम्मेदवारको प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०५ फागुन २०८२, मङ्गलबार
1.2kShares
बाँदरको व्यवसायिक पालन र मासु निर्यात गर्ने नेकपाका उम्मेदवारको प्रतिबद्धता
ncell

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटा केन्द्रित चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटाबाट पार्टीले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धर्मराज पौडेललाई उम्मेदवार बनाएको छ भने समानुपातिक सूचीमा उम्मेदवार नराखिएको जनाएको छ ।

घोषणापत्रमा निर्वाचनलाई व्यवस्था पक्षधर र विरोधी धारबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गर्दै लोकतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धिको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध रहेको दाबी गरिएको छ ।

उम्मेदवार पौडेलले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, वन तथा पशु विज्ञान अध्ययन कार्यक्रम सञ्चालन, अस्पतालको स्तरवृद्धि, प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल निर्माण तथा औद्योगिक ग्राम स्थापना गर्ने योजना अघि सारिएको छ ।

२० बुँदे प्रतिबद्धतामा किसानका बाली नष्ट गर्ने बाँदर नियन्त्रणका लागि व्यावसायिक व्यवस्थापनको प्रस्ताव पनि समावेश छ । निश्चित क्षेत्र तोकी बाँदर पालन गरी मासु तथा सुकुटी उत्पादन गरेर निर्यात गर्न सकिने धारणा पौडेलले सार्वजनिक गरेका छन्।

पौडेलले भने, ‘किसानको खेतबारी सखाप पार्ने बाँदरलाई नियन्त्रण गर्न निश्चित क्षेत्रमा पालेर आवश्यक पोषण दिई मासु उत्पादन गर्न सकिन्छ । चीनलगायतका देशमा बाँदरको मासु र सुकुटीको राम्रो मूल्य छ।’

आवश्यक कानुनी संशोधनमार्फत वन्यजन्तु व्यवस्थापनलाई व्यवस्थित बनाइ किसानलाई राहत दिन सकिने उनको दाबी छ।

यसैगरी, ग्रामीण सडकलाई वर्षैभरि सञ्चालनयोग्य बनाउने, कच्ची सडक स्तरोन्नति, नाली, पर्खाल र कल्भर्ट निर्माण गरी सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्ने योजना उल्लेख छ । विपद् जोखिम व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

कृषि क्षेत्रमा पकेट विकास, कोल्ड स्टोर, प्रशोधन तथा वितरण केन्द्र स्थापना, सिँचाइ विस्तार, सहुलियत ऋण र अनुदानमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । नगदे बाली, पशुपालन, तरकारी तथा फलफूल उत्पादन बढाई रोजगारी सिर्जना गर्ने योजना समेटिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार, खेल पूर्वाधार विकास, मिनी रंगशाला निर्माण र होमस्टे प्रवर्द्धन गर्ने पनि घोषणा–पत्रमा समावेश छ ।

विदेशबाट फर्किएका युवालाई सीपमा आधारित स्वरोजगारमा जोड्ने, शहीद तथा बेपत्ता परिवारको संरक्षण, स्वच्छ खानेपानी पहुँच विस्तार तथा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता समेत पार्टीले व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?