काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, नयाँ मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ ।
साथै, मन्त्रालयको जिम्मेवारीसमेत आंशिक रूपमा निर्धारण भइसकेको छ। स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थ सचिव रामेश्वर खनाललाई दिने तयारी भएको छ ।
खनाललाई अर्थ नीतिमा दीर्घ अनुभव भएको र सार्वजनिक वित्तीय प्रणालीमा उनको भूमिकालाई सरकारको स्थायित्वका लागि उपयोगी ठानिएको बताइन्छ ।
यस्तै, गृहमन्त्रालयमा अधिवक्ता तथा कानुनविद् ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ । अर्यालले गृहमन्त्रीको अतिरिक्त जिम्मेवारीका रूपमा कानुन मन्त्रालय पनि सम्हाल्नेछन् । ‘यो प्रारम्भिक सूची हो ।
ऊर्जा मन्त्रालयमा भने हालैको वर्षौंको विद्युत् अभाव समाधानमा योगदान पुर्याएका प्राविधिक व्यक्ति कुलमान घिसिङलाई जिम्मेवारी दिने तयारी गरिएको छ । घिसिङलाई ऊर्जा सुधार र उत्पादन विस्तारमा उनको कार्यकुशलता र पहिलेदेखि रहेको अनुभवलाई मूल्याङ्कन गर्दै मन्त्री बनाउने निर्णय गरिएको हो ।
तीनै मन्त्रीहरूको नाम टुंगो लगाइए पनि उनीहरूको शपथग्रहण भने भोलि मात्र हुने भएको छ । ‘ यसरी, प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारसँगै सरकारको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
राजनीतिक रूपमा स्वच्छ छवि भएका विज्ञ व्यक्तित्वहरूको प्रवेशले जनस्तरमा सकारात्मक सन्देश जाने स्रोतको भनाई छ।


































