काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर निर्धारण गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार अधिकांश बैंकहरुले माघ महिनाका लागि समेत पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
माघ महिनामा १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २० बैंकहरुमध्ये बाँकी ३ वाणिज्य बैंकहरुमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ।
नेपाल एसबिआई बैंक र कृषि विकास बैंकले पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाएका छन् भने बढाउने बैंकमा लक्ष्मी सनराइज रहेको छ। नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ।
त्यस्तै, दुई बैकहरुको ब्याजदर घटेपछि बैंकहरुको औषत ब्याजदर पनि सामान्य घटेको छ। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत विन्दु घटेको हो।



































