काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गते अर्थात् आजदेखि करिब ५ महिनाका लागि २४ घण्टामा दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउन रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउने लगायतका काम गर्नुपरेकाले दैनिक १० घण्टा बन्द गर्न लागिएको विमानस्थलले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको कारण विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिको काम अगाडि बढाउन लागेको जानकारी दिएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिसँग जोडेर अफवाह फैलाउन आवश्यक छैन भन्ने अधिकारीले महानिर्देशक अधिकारीले भने । धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको उनको भनाई छ ।
अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भए पनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख जानकारी दिएका छन्। समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने अधिकारीको भनाई छ । ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीको भनाई छ ।
महानिर्देशक अधिकारीले भने, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउँछौँ । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो ।’
उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो फोरकाष्ट छ । अहिले गर्न लागेको ठ्याक्कै के हो भने प्यारालल ट्याक्सी वे बनाउने र त्यसलाई रन वे मा जोड्नु पर्यो । त्यो रनवेमा जोड्ने ठाउँमा अहिले हामीले खनेर ट्याक्सी वेसम्म लिएर आउने हो ।
दैनिक १० घण्टा विमानस्थल बन्द गर्दा ५ महिनामा अनुमानित आयको २ अर्ब नेपाली रुपियाँ गुमाउने उनको भनाई छ। यसको निर्माण पश्चात् यसले एयरपोर्टको इफिसेन्सी बढी हुनुको साथै यसले योभन्दा बढी फ्लाइट गर्ने सम्भावना रहने उनको दाबी छ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक पटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यति बेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।































