National life

लघुकथाबाट समाज रूपान्तरणको आवाज उठाउँदै साहित्यकार सरिता पराजुली

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.6kShares
लघुकथाबाट समाज रूपान्तरणको आवाज उठाउँदै साहित्यकार सरिता पराजुली
ncell

काठमाडौँ। नेपाली साहित्यमा पछिल्लो समय लघुकथा, कविता तथा सामाजिक विषयवस्तुमा आधारित लेखनको प्रभाव उल्लेखनीय रूपमा बढ्दै गएको छ। समाजमा भइरहेका परिवर्तन, असमानता, मानवीय संवेदना र समसामयिक मुद्दाहरूलाई शब्दमार्फत प्रस्तुत गर्ने प्रवृत्ति सशक्त बन्दै जाँदा नयाँ तथा सक्रिय स्रष्टाहरूको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ।

यही परिवेशमा साहित्यकार सरिता पराजुली जस्ता स्रष्टाहरूले साहित्य र समाजसेवालाई सँगसँगै अघि बढाउँदै आफ्नो छुट्टै पहिचान बनाइरहेका छन्। बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्दै आएका उनी जस्ता सर्जकहरूले आफ्ना अनुभव, अवलोकन र सामाजिक यथार्थलाई सिर्जनामा उतार्दै पाठकसँग गहिरो सम्बन्ध स्थापित गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तुत छ आर्थिक भ्वाईसले साहित्यकार सरिता पराजुलीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश

सुरुमा तपाईंको परिचय र पृष्ठभूमिबारे बताइदिनुहोस् न ।


मेरो नाम सरिता पराजुली हो। मेरी आमा उमादेवी तिमिल्सिना र बुवा विधा पुरुष तिमिल्सिना हुनुहुन्छ। मेरो जन्म धर्मस्थली गाउँमा भएको हो, जुन हाल तारकेश्वर नगरपालिकाभित्र पर्छ।


मैले ग्राम सेवा माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरेकी हुँ। आफ्नो परिचय दिनुपर्दा म आफूलाई एक समाजसेविकाको रूपमा चिनाउँछु। विशेषगरी साना बालबालिकालाई सेवा गर्न पाउँदा मलाई अत्यन्त सन्तुष्टि र आनन्द प्राप्त हुन्छ।


म विभिन्न सामाजिक संस्थाहरूसँग आबद्ध भएर सक्दो सहयोग गर्दै आएकी छु। साथै, ‘दुर्गा नाथ पराजुली स्मृति लायन्स छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेकी छु, जसको म संस्थापक पनि हुँ।


तपाईंको लेखन यात्राको सुरुवात कसरी भयो? साहित्यतर्फ आकर्षित हुनुको कारण के हो?


म सानैदेखि कथा र कविता लेख्ने गर्थें। अरूले लेखेका साहित्यिक रचनाहरू पढ्न पनि मलाई उत्तिकै रुचि थियो। विद्यालय तहदेखि नै साहित्यप्रति मेरो विशेष झुकाव रहँदै आएको हो।


बेला–बेलामा मेरा कविता पत्रपत्रिकामा प्रकाशित पनि हुन्थे। साहित्य मेरो मनपर्ने क्षेत्र भएकाले अहिले समय मिलेसँगै त्यसलाई निरन्तरता दिँदै लेखनमा सक्रिय भएकी छु।


साहित्यलाई तपाईं कसरी बुझ्नुहुन्छ? साहित्य किन लेखिन्छ? हालसम्मका कृतिहरू र भविष्यको योजना के छ?


मेरो बुझाइमा साहित्य भनेको समाजका राम्रा–नराम्रा पक्षलाई शब्दमा अभिव्यक्त गर्ने माध्यम हो। साहित्यले मानिसलाई सकारात्मक परिवर्तनतर्फ डोर्‍याउन मद्दत गर्छ र समाजलाई सही मार्ग देखाउने क्षमता राख्छ।


साहित्य समाजलाई बुझाउन र सचेत बनाउन लेखिन्छ। यसको स्वाद अत्यन्त मिठो हुन्छ, लेख्दै र पढ्दै जाँदा त्यसको गहिराइ र आकर्षण अझ बढ्दै जान्छ।


हालसम्म मेरा तीन वटा कृतिहरू प्रकाशित भइसकेका छन्। अब छिट्टै नयाँ कविता संग्रह प्रकाशन गर्ने तयारीमा छु।



मेरो पुस्तकहरूलाई पाठकहरूले निकै मन पराउनुभएको छ र सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। आफ्ना कृतिहरूमध्ये कुनै एकलाई विशेष रूपमा छुट्याउन सक्दिनँ—सबैप्रति समान माया छ।


लघुकथा लेखनमा छोटो संरचनाभित्र गहिरो सन्देश दिनु चुनौतीपूर्ण हुन्छ। तपाईं यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?


लघुकथा छोटो तर सन्देशपूर्ण हुनुपर्छ। पाठकले कथा पढिसकेपछि त्यसले दिन खोजेको अर्थ स्पष्ट रूपमा बुझ्न सक्नुपर्छ।


म प्रायः समाजमा घटिरहेका घटनाहरूलाई आधार बनाएर कथा लेख्छु, जसले पाठकलाई सकारात्मक सन्देश दिन सकोस् भन्ने मेरो प्रयास रहन्छ।


तपाईंका साहित्यिक कृतिहरूमा मुख्यतः कस्ता विषयवस्तुहरू उठाइन्छन्?


म मुख्यतः सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर लेख्छु। समाजमा घटिरहेका घटनाहरू, मानिसका व्यवहार र जीवनका यथार्थ पक्षहरू मेरो लेखनका आधार हुन्।


यद्यपि विषयवस्तुको आवश्यकता अनुसार कहिलेकाहीँ राजनीतिक विषयमा पनि कविता वा कथा मार्फत आफ्नो विचार अभिव्यक्त गर्ने गर्छु।


नेपाली साहित्यमा लघुकथा विधाको वर्तमान अवस्था कस्तो छ? यसको प्रवर्द्धनका लागि के गर्नुपर्ला?


हाल नेपालमा लघुकथा लेखन राम्रो रूपमा अघि बढिरहेको छ। धेरै स्रष्टाहरू यस विधामा सक्रिय देखिन्छन्। तथापि, अझ गुणस्तर वृद्धि र विविधतामा ध्यान दिन आवश्यक देखिन्छ।


यसको प्रवर्द्धनका लागि पाठकको पहुँच विस्तार, समालोचनात्मक अध्ययन र साहित्यिक गतिविधिहरूलाई अझ सशक्त बनाउनुपर्छ।


अन्त्यमा, पाठकहरूका लागि तपाईंको सन्देश के छ?


हामी स्रष्टाहरूले लेखेका पुस्तकहरू पाठकहरूले पढिदिनुहोस् भन्ने मेरो अनुरोध छ। पाठकबाट प्राप्त हुने प्रतिक्रिया र सुझावले हामीलाई आफ्ना कमजोरीहरू पहिचान गर्न र सुधार गर्न ठूलो सहयोग गर्छ।


स्रष्टाका लागि पाठक नै सबैभन्दा ठूलो गहना हुन्। उहाँहरूको माया, साथ र सुझावबाट नै हामीलाई अझ राम्रो सिर्जना गर्ने प्रेरणा मिल्छ।


साहित्यलाई समाज रूपान्तरणको माध्यमका रूपमा अघि बढाउँदै उनले सिर्जना र समाजसेवालाई सँगसँगै जोड्ने प्रयास गरिरहेकी छन्। उनका विचार, अनुभव र प्रतिबद्धताले साहित्यप्रेमीहरूलाई मात्र होइन, समग्र समाजलाई पनि सकारात्मक दिशातर्फ उन्मुख गराउने प्रयास गरिरहन्छन्।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?