काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य रहेका अमरेशकुमार सिंहले समितिले भ्रष्टाचारलाई सहजीकरण गरिरहेको आरोप लगाएका छन्। आइतबार बसेको समितिको बैठकमा उनले सरकारद्वारा भइरहेका भ्रष्टाचारजन्य गतिविधिहरूमा लेखा समितिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिइरहेको दाबी गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन तथा अनुगमन उपसमितिको प्रतिवेदन सांसदहरूलाई वितरण गरेपछि धारणा राख्दै सिंहले लेखा समितिले आफ्ना प्रमुख कार्यहरू पूरा गर्न नसकेको र सरकारको छायाको रूपमा कार्य गरिरहेको बताएका हुन्।
सार्वजनिक लेखा समितिको सभापतित्व नेकपा एमालेका ऋषिकेश पोखरेलले गरिरहेका छन्।
पछिल्ला दिनहरूमा समितिले भ्रष्टाचार र अनियमितताको छानबिन नगरेको भन्दै प्रश्न उठ्दै आएको छ। यही सन्दर्भमा सांसद सिंहले समितिको निष्क्रियता तथा भ्रष्टाचारमा मौनता रहनु नै त्यसलाई सहज बनाउने काम भएको आरोप लगाएका हुन्।
































