काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालैको अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति पुर्याए पनि अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको जानकारी दिएका छन् ।
सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले वर्षा रोकिनसाथ वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको संयुक्त समन्वयमा सेवा पुनःस्थापनाको काम तीव्र पारिएको बताए ।
उनले भने, ‘मिति २०८३/६/९ गतेदेखिको अविरल वर्षाको कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुग्न गएको थियो। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू सञ्चालनमा आएका छन्।
उत्पादन तथा प्रसारणतर्फको क्षतिबाढीपहिरोका कारण प्राधिकरण र निजी क्षेत्रका थुप्रै आयोजनाहरू प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा सात जलविद्युत् केन्द्रको १९० मेगावाट उत्पादन प्रभावित भएको थियो ।
राहुघाट जलविद्युत् केन्द्रको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने जनाइएको छ ।
उनले भने, ‘प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवद्र्धन गरिएको राहुघाटको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पनि पानी पसेको हुँदा सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्नेछ, स्विचयार्ड भने चालु भइसकेको छ । कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा कुल ७ वटा जलविद्युत् केन्द्रहरूको १९० मेगावाट विद्युत् रोकिएको छ ।’
सेती र मादी करिडोरमा बाढीका कारण अवरुद्ध २६२ मेगावाट तथा मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन् । कालीगण्डकी ‘ए’ को १४४ मेगावाटको प्लान्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको जानकारी दिइएको छ । बाटो अवरुद्ध भएकाले विस्तृत विवरण संकलन भइरहेको उनले बताए ।
अवरुद्ध वितरण लाइन म्याग्दी, मनाङ, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठानमा विद्युत् अवरुद्ध भएकोमा धेरै ठाउँमा सेवा सुचारु भइसकेको छ ।
गत भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली ३ ‘बी’ २२० केभी हब बगाउँदा र अन्य केन्द्रहरूमा क्षति पुग्दा करिब १४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
उक्त क्षेत्रमा सफाइ कार्य सकिएपछि मात्र वास्तविक क्षतिको मूल्यांकन गरी टेन्डर तथा बजेट व्यवस्थापन प्रक्रिया अघि बढाइने श्रेष्ठले बताए ।
उनले भने, ‘सुख्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल क्षमता १२१८ मेगावाट मात्र हुनेछ । माग र आपूर्ति सन्तुलनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न विन्दुबाट ३५० मेगावाट र आरटीसीको माध्यमबाट १५० मेगावाट गरी कुल ११५४ मेगावाट आयात गर्ने योजना छ । जसअनुसार कुल विद्युत् उपलब्धता २३७२ मेगावाट पुग्ने अनुमान छ ।’
काठमाडौं उपत्यकाको लोड व्यवस्थापनमा विशेष तयारीहिउँदमा काठमाडौं उपत्यकामा विद्युतीय चुलो र हिटर–एसीको प्रयोग बढ्दा लोड व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले प्राधिकरणले विशेष योजना बनाएको छ ।
उनले थपे, ‘पोहोर साल उपत्यकामा ७०० मेगावाट पिक डिमान्ड रेकर्ड भएकोमा यसपालि १० प्रतिशत बढ्ने अनुमान छ । यसलाई सम्बोधन गर्न चोभार, फुटुङ र मूलपानी सबस्टेसनहरू चार्ज गरी लोड सिफ्ट गरिँदै छ । यसका लागि बागमती प्रदेश कार्यालय प्रमुखको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ । साथै अन्डरग्राउन्ड केबलहरूलाई विन्टरअगावै चार्ज गरेर लोड व्यवस्थापन गरिनेछ ।’
दसैँलगत्तै हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन सम्पन्न गर्ने तयारी रहेको र यसले प्रणालीको विश्वसनीयता बढाउने उनले बताए ।

































