काठमाडौँ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार २० वटा वाणिज्य बैंकले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए।
साथै, यस बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार ४ वटा बैंकको नाफा घटेको छ भने बाँकी १६ वटा बैंकको नाफा बढेको छ। सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि), दोस्रो स्थामा रहेको छ । बैंकले गत वर्ष ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बढी नाफा कमाएको छ । नाफा वृद्धिदर समेत ६४.४४ प्रतिशत रहेको छ । साथै, ग्लोबल आइएमई बैंकले तेस्रो स्थानमा ओर्लिएको छ । गत वर्ष ग्लोबलले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, नाफा घट्ने बैंकहरूमा भने स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
सबैभन्दा धेरै नाफा घट्ने बैंकमा एनआईसी एशिया रहेको छ । बैंकको गत वर्ष नाफा ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७० करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तालिकामा हेर्नुहोस्






























