काठमाडौं । भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजात र शैक्षिक प्रमाणपत्र बनाएर भ्रमण भिसामा विदेश पठाउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विमानस्थलको अध्यागमन कार्यालयले शङ्का लागेर पठाइएका उनीहरूमाथि अनुसन्धान गर्दा सो तथ्य खुलेको जानकारी दिए ।
विमानस्थल कार्यालयले गत असोज २९ गते ती व्यक्तिका कागजातहरू पठाएको थियो ।
पक्राउपछि उनीहरूसँग खानतलासी गर्दा मोबाइल दुई थान, ९५ हजार र जेम्स दामदाली नामको राहदानीसमेत फेला परेको छ । रेग्मीका अनुसार यसैगरी विमानस्थलबाट फर्काएका अर्का व्यक्तिको कागजात अध्ययन गर्दा राहुलकुमार मण्डलको नामको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ नक्कली फेला परेको छ ।
उक्त कागजात बनाउने काठमाडौँ बस्ने साइरस विसङ्खेलाई पनि पक्राउ परी आवश्यक अनुसन्धान थालिएको छ । नयाँ बानेश्वरमा ग्राफिक डिजाइनिङ एन्ड प्रिन्टिङ सर्भिस सञ्चालन गर्दै आएका विसङ्खेका उक्त प्रिन्टिङ सर्भिस खानतलासी गर्दा केही शैक्षिक प्रमाणपत्रहरू बरामद गरिएको छ । उनीहरू तीन नै जनालाई थप कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा बुझाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए । रासस































