काठमाडौँ । राजधानी केन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले माइतीघर–नयाँ बानेश्वर सडक खण्डका तीनैवटा लेन अवरुद्ध पारेको छ । जसका कारण यातायात प्रभावित भएको छ।
आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशका विभिन्न भागबाट आएका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौँका सडकहरूमा आन्दोलनमा छन् । चैत २५ गतेदेखि उनीहरूले शिक्षण हड्तालसमेत सुरु गरेका छन्।
हाल देशभरका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सार्दै आन्दोलनमा होमिएका हुन्। उनीहरूको मुख्य माग भनेको विगतमा भएका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन यथाशक्य छिटो जारी गर्नुपर्ने हो।
यसअघि, असोज १२ गते राहत शिक्षक, बाल विकास कार्यकर्ता, विद्यालय कर्मचारी, पेन्सनवञ्चित लगायतसँग थप पाँच बुँदे सहमति भएको थियो। मन्त्रालयले उक्त सहमतिलाई कार्यान्वयन गर्न तथा संसद्मा विधेयक संशोधनको प्रक्रिया अघि बढाउन सहजीकरण गर्ने भनिएको थियो।
यसबाहेक, दुई पटक भएको ११ बुँदे सहमति अनुसार सरकारले विद्यालय शिक्षा विधेयकमा आवश्यक विषयवस्तु समावेश गरी शिक्षा समितिमा पेश गरेको थियो। सोही आधारमा शिक्षक तथा कर्मचारीहरूले सांसदहरूमार्फत संशोधन प्रस्ताव पेश गराएका थिए, जसमा १५२ जना सांसदहरू सहभागी भएका थिए।
नेपाल शिक्षक महासंघले गत वर्ष सरकारले गरेको सहमतिअनुसार विद्यालय शिक्षा ऐनमा आवश्यक प्रावधान समावेश गर्नुपर्ने माग गर्दै २२ बुँदे मागपत्र सार्वजनिक गरेको छ।
































