काठमाण्डौ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपा बीच पार्टी एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। हालै भएका बैठकहरूमा विचार र सिद्धान्त मिल्ने पार्टीहरूबीच एकता गरेर अघि बढ्ने निर्णय गरेसँगै यस प्रक्रियाको सुरुवात भएको हो।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले कम्युनिस्ट एकताका लागि औपचारिक निर्णय गरिसकेका छन्। भदौ ३ गते बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न औपचारिक अपिल गरेको छ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ। चुनौतीपूर्ण परिस्थितिमा हाम्रो पार्टी कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्दछ।”
साथै एकीकृत समाजवादीले आफ्ना नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने अन्य वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै नेकपाले पनि कम्युनिस्ट एकताका लागि पहल सुरु गरिसकेको छ। भदौ २३ देखि २६ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले एकताका लागि वार्ता टोली गठन गरेको थियो। प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ जसमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी सदस्य रहेका छन्।
बुढाथोकीले भने, “माओवादी केन्द्रसहित अन्य कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्यीय वार्ता टोली बनाइएको हो।” यसअघि साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले पनि नेकपा लगायत अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरिसकेको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरहरूसँग बृहत् मोर्चा बनाउने प्रस्ताव तयार पारेका छन्। बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा उनी राजनीतिक प्रतिवेदनमार्फत पार्टी एकता र बृहत् मोर्चाको प्रस्ताव अघि बढाउने तयारीमा छन्।
समाजवादी मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन्। दलका नेताहरूले मोर्चाभित्र रहेका चारवटै पार्टीबीच सम्भव भएसम्म एकता गर्ने तयारी भइरहेको बताएका छन्। एकीकृत समाजवादीका नेता बेदुराम भुसालले भने, “कम्युनिस्ट पार्टी एकताका लागि तीनवटै पार्टीले औपचारिक फोरमबाट निर्णय गरिसकेको छ। अब प्रक्रियागत रूपमा गृहकार्य गर्दै अघि बढ्न आवश्यक छ।”
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष र प्रवक्ता अग्नि सापकोटाले पनि विचार मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गर्न पहल भइरहेको बताए। “सकेसम्म समाजवादी मोर्चालाई नै एकतामा रूपान्तरण गर्नेगरी पहल भइरहेको छ। विचार मिल्ने देशभक्त र परिवर्तनका पक्षधरहरूसँग बृहत् मोर्चा वा पार्टी एकताको पहल हुनु स्वाभाविक हो,” उनले भने।
यसैबीच नेसपा अध्यक्ष महिन्द्रराय यादवले पनि समाजवादी मोर्चाका घटकबीच एकताको विषयमा छलफल भइरहेको पुष्टि गरेका छन्।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि राजनीतिक घटनाक्रमले पुराना दलहरूलाई रूपान्तरण र एकताका लागि थप दबाब दिएको छ। आन्दोलनका कारण दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले सत्ताच्युत भएको छ। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ भने आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको छ।


































