काठमाडौँ । सरदर मिति भन्दा तीन दिन अगाडि नै यस वर्षको मनसुन नेपाल भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिखलाई मानिन्छ ।
तर नेपालमा यस वर्ष तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने महाशाखाले जनाएको छ।
अघिल्ला वर्षहरूको अनुभवअनुसार पूर्वबाट देशमा मनसुन भित्रिएपछि पश्चिमसम्म पुग्न एक हप्ता समय लाग्छ । यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भागमा सरदर वर्षा हुने छ ।


































