काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय प्रदर्शनमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य सुधार देखिएको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस अवधिमा खुद नाफा १२४ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२४.६२ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.२१ प्रतिशतले वृद्धि भएको छ। यद्यपि खुद शुल्क तथा कमिशन आम्दानी भने ११.९९ प्रतिशतले घटेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी ४५.९० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा उल्लेख्य रूपमा २५८.८१ प्रतिशतले उकालो लागेको छ।
दोस्रो त्रैमासको अन्त्यसम्म लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड २१ लाख रुपैयाँ पुगेको छ। यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ३२ पैसा कायम भएको छ। नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा ईपीएस १३ रुपैयाँ ७४ पैसाले बढेर २६ रुपैयाँ २३ पैसा पुगेको छ।
वित्तीय सूचकांकअनुसार सो अवधिसम्म लघुवित्तको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात ३४.६६ गुणा रहेको छ। ६७ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। कारोबार विस्तारतर्फ हेर्दा पुस मसान्तसम्ममा संस्थाले निक्षेप तथा सापटीमार्फत ८ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ संकलन गरी ८ अर्ब ८५ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।































