काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति बीओपी र चालु खातामा आकर्षक सुधार आएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको तथ्यांक सार्वजनिक गरेको हो।
त्यस्तै, अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति जम्मा १७४ अर्ब २८ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो भने अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको तथ्यांकमा देखिएको हो ।
यता समीक्षा अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जानकारी दिएको हो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ भने समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई रु ४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँले धनात्मक अवस्था थियो।



































