काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभा निर्वाचन २०८२ मा अपेक्षाभन्दा निकै कमजोर नतिजा भोगेपछि पार्टीभित्र त्यसको जिम्मेवारीबारे बहस सुरु भएको छ। यही क्रममा मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले आफ्नो पदबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका छन्।
आइतबार बिहान फेसबुकमार्फत लामो स्टाटस लेख्दै पोखरेलले निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी स्वीकार गर्दै तत्काल अध्यक्ष पद छाडेको जानकारी दिएका हुन्। उनले पार्टीको केन्द्रीय नेतृत्वले पनि नतिजाको जिम्मेवारी लिनुपर्ने र पार्टी पुनर्संरचनाका लागि बाटो खुला गर्नुपर्ने बताएका छन्।
पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (माले) देखि एमालेसम्मको करिब ४५ वर्षको राजनीतिक यात्रालाई स्मरण गर्दै अहिले आएको परिणाममाथि गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्। नेतृत्वको कार्यशैलीप्रति संकेत गर्दै उनले वास्तविक कारण पहिचान नगरी सामान्य भाषामा मात्रै प्रतिक्रिया दिने र अहंकार तथा प्रतिस्पर्धात्मक मानसिकताले समस्या समाधान नहुने धारणा व्यक्त गरे।
उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’
उनले पार्टीभित्र तल्लो तहदेखि शीर्ष नेतृत्वसम्म सबैले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्। पार्टी अध्यक्षदेखि महासचिवसम्मले आफ्नो भूमिकाबारे स्पष्ट समीक्षा गर्दै आवश्यक परे जिम्मेवारी ग्रहण गरी पद छाड्न समेत तयार हुनुपर्ने उनले बताएका छन्।
पोखरेलका अनुसार पार्टीलाई भविष्यमा मजबुत बनाउने हो भने यथार्थ स्वीकार गरेर जिम्मेवारी लिनु अपरिहार्य छ। उनले आफू पदबाट अलग भए पनि नयाँ पुस्तालाई सहयोग र साथ दिन तयार रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्त्यमा उनले अहिलेसम्म प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

































