काठमाडौँ । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता पनि चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।
पर्यटक र निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मीले पनि विगतका तुलनामा हिजोआज बढी बाघ देखिन थालेको बताएका छन्। लामो समयसम्म निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन्।
सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् ।
पथ प्रदर्शक सरोज चौधरीका अनुसार सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएका छन् । उनले भने, ‘बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुने गर्छन।’ ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक निकै उत्साहित हुने गरेको चौधरीले बताएका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए ।
यसवर्ष निकुञ्जमा बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ।




































