चितवन । चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा वृक्षरोपण तथा सरसफाइ अभियानकाे सुरुवात गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको नेतृत्वमा शुक्रबार बिहान नारायणी नदी किनारमा सरसफाइसँगै वृक्षरोपण अभियान सुरु गरिएको हो ।
महानगरको बृहत सरसफाइ तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत शुक्रबार बिहान नारायणी नदी किनारमा पाम, समी, पिपल, वर लगायतका छिटो सर्ने विरुवा रोपिएको दाहालको सचिवालयले जनाएको छ ।
पवित्र धार्मिक तिर्थ स्थल र महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भइरहेको नारायणी किनारको सौन्दर्यकरणका लागि सरसफाइ तथा वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानासहित सयौँ स्थानीयको सहभागिता थियो ।
महानगर प्रमुख दाहालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार अब नियमित रुपमा महाननगर क्षेत्रमा सरसफाई गरिने बताइन् ।


































