काठमाडौँ । सरकारले केही दिन अगाडि मात्रै पत्रकारको दुर्घटना बीमा गराउने प्रक्रिया अगाडि सारेकोमा हाल ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो। आइतबार पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठकले बीमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय गरेको विभागले जनाएको छ ।
विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिएको छ ।
यो बिमा एक वर्षका लागि लागु हुनेछ। विभागले कार्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले वर्षे नि सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गरी बीमा गराउँदै आएको छ।


































