काठमाडौं । राजावादीहरुको आन्दोलन सल्बलाउन थालेसँगै नेपाली सेनालाई चर्चा र विवादमा ल्याउन थालिएपछि जंगी अड्डाले विज्ञप्ती जारी गरेको छ ।
नेपाली सेनाको अनुरोध शीर्षकमा नेपाली सेनाका तर्फबाट बुधबार विज्ञप्ति जारी गर्दै नेपाली सेना वर्तमान संविधानप्रति प्रतिवद्धता जनाएको छ।
, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ।’ सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
राजनीतिक विवादमा सेनालाई मुछ्न खोजिएको गुनासो गर्दै सेनाले भनेको छ, ‘विगत केही दिनयता विभिन्न
सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार
सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दैआएको छ।’
साथै नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न समेत नेपाली सेनाले आग्रह गरेको छ ।


































