National life

यी हुन्, मनै आनन्दित बनाउने काठमाडौं उपत्यका नजिकैका हाइकिङ स्पट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असोज २०८१, आइतबार
899Shares
यी हुन्, मनै आनन्दित बनाउने काठमाडौं उपत्यका नजिकैका हाइकिङ स्पट
ncell
काठमाडौं । हिजोआज सहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई एक दिनको लागि भए पनि आनन्द लिन खोज्नेहरूमाझ लोकप्रिय बनिरहेको छ, हाइकिङ । अझ काठमाडौं उपत्यकाको वरिपरि त धेरै हाइकिङ रुटहरू रहेका छन् । दशैँतिहारको फुर्सदिलो तथा रमाइलो समयलाई परिवार तथा साथीभाइहरूसँग झन् रमाइलो तथा यादगार रूपमा मनाउनको लागि ह्याकिङ जानु पनि उपयुक्त हुनसक्छ ।
हाइकिङ जाँदा एक दिन भए पनि सहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाइन्छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वन पाखा, हिमशृङ्खला, सांस्कृतिक सम्पदा, जनजीवन आदि नियाल्दै उपत्यकालाई फन्को मार्न सकिने हाइकिङ ट्रेलहरू छन् । जसमध्ये केही प्रख्यात स्थानहरूको बारेमा हामी तपाइलाई जानकारी दिँदै छौ ।
१. शिवपुरी
काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडा एकदमै प्रख्यात हाइकिङ स्पट हो । बुढानीलकण्ठको पानी मुहानबाट निकुञ्ज प्रवेश गरेपछि दायाँ वाग्द्वार (विष्णुमतीको मुहान) हुँदै या बायाँतर्फको रुटबाट डाँडामा पुग्न सकिन्छ । घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुग्दा हिमशृङ्खलाको दृश्य पनि देख्न पाइन्छ ।
२. चम्पादेवी
उपत्यकाको दक्षिण पश्चिममा रहेको चम्पादेवी पुग्न चोभारको टौदहबाट हाइकिङ सुरु गरेर दक्षिणकाली मन्दिर नजिकको पुरानो नेवार बस्ती फर्पिङ नियाल्दै त्यही ट्रेलबाट फर्कने गरिन्छ । चम्पादेवीबाट गौरीशङ्कर, लाङटाङ, अन्नपूर्णलगायतका हिमाली शृङ्खला देखिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट पनि चम्पादेवी जाने रुट छ ।
३. चन्द्रागिरि
चन्द्रागिरि हाइकिङको लागि कीर्तिपुरको मच्छेगाउँबाट यात्रा सुरु गर्न सकिन्छ । त्यहाँबाट छापडाँडाहुँदै चन्द्रागिरि पुगिन्छ । थानकोटको गोदाम चौरबाट चन्द्रागिरिको डाँडा निस्कने अर्को ट्रेल छ । त्यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, मनासलु, दोर्जे लाक्पालगायतका हिमालहरू देखिन्छ । समय निकाल्न सक्नेहरूले गोदाम चौरबाट मकवानपुरको चित्लाङ पुगेर एक रात बसी इन्द्र सरोवरमा बोटिङको मजा लिन पनि सकिन्छ ।
४. नागार्जुन
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको नागार्जुन हाइकिङ बालाजु बाइपासको फूलबारीबाट सुरु गर्नुपर्छ । उपत्यकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने यो रुटको पूरै हिँडाइ घना जङ्गलभित्र हुन्छ । डाँडामा जामाको गुम्बा र भ्यु टावर रहेको छ । चाँडाबाट लाङटाङ, अन्नपूर्णलगायतका हिमशृङ्खला, नुवाकोटका गाउँ र काठमाडौं उपत्यका हेर्न नागार्जुन हाइकिङ धेरै उपयुक्त छ ।
५. नगरकोट
काठमाडौं उपत्यकाको पूर्वी कुनामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा हाइकिङको मज्जा लिन साँखु, सुन्दरी जल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट यात्रा गर्न सकिन्छ । यो हाइकिङमा सगरमाथा, मनासलु, गणेश, लाङटाङलगायतका हिमाली शृङ्खला देखिन्छ । नगरकोट हाइकिङको लागि चाँगुनारायण–तेल कोट ट्रेल सबभन्दा बढी प्रयोगमा छ ।
६. नमो बुद्ध
धुलिखेलबाट काभ्रेको प्रसिद्ध धार्मिक स्थल नमोबद्धसम्म हाइकिङ गर्न सकिन्छ । धुलिखेलको बतासे डाँडाबाट नमोबुद्धहुँदै काभ्रेभञ्ज्याङ्ग निस्कने अर्को रमाइलो ट्रेल छ । यस्तै पनौतीको धापासीबाट नमोबद्धसम्मको अर्को पनि ट्रेल छ । नमोबद्धबाट गौरीशङ्कर, लाङटाङ, दोर्जे लाक्पा, गणेश, मनासलुलगायतका हिमालको अवलोकन गर्न सकिन्छ ।
७. फुलचोकी
उपत्यकाको सबभन्दा अग्लो डाँडा फुलचोकीको हाइकिङलाई ‘टफ’ मानिन्छ । गोदावरीबाट सुरु हुने हाइकिङ ट्रेलले बिचबिचमा सडक भेट्छ । फर्किँदा त्यही रुट प्रयोग गरिन्छ । उष्णप्रदेशीय पहाडी वनको यात्राले फुलचोकीको हाइकिङलाई विशेष बनाउँछ । चरा र पुतलीको रमिता फुलचोकी यात्राको अर्को विशेषता हो ।
८. साँखु
काठमाडौं उपत्यकाको प्राचीन बस्तीमध्येमा पर्ने साँखुबाट बज्रयोगिनी हुँदै मणिचूडसम्म रमाइलो हाइकिङ गर्ने रुट छ । नयाँ–पुरानो बस्ती, खेतबारी, वन पाखा यो रुटका विशेषता हुन् ।
९. आशा पुरी महादेव
भक्तपुरको गुण्डूबाट सल्लाको वन अवलोकन गर्दै यात्रा गरेर पाइलट बाबा आश्रम पुगिन्छ । यो रुटमा घ्याम्पे डाँडा हुँदै प्राकृतिक छहरायुक्त आशा पुरी महादेवको मन्दिर पुगिन्छ । भक्तपुर र काभ्रे जिल्लाको सीमामा रहेको आशा पुरी महादेवबाट फर्केर साँगा झर्न सकिन्छ । वन र ग्रामीण जनजीवन यो हाइकिङ रुटको थप विशेषता हो ।
१०. लाकुरी भन्ज्याङ
ललितपुरको लाँकुरी भन्ज्याङबाट उपत्यकाका तीन वटै सहरको विहङ्गम दृश्य देखिन्छ । यात्रा हुन्छ– सल्ला, कटुस र लालीगुराँसको बनबिचबाट । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरीभञ्ज्याङ उपयुक्त छ । लुभूबाट लाँकुरी भन्ज्याङ हुँदै सूर्य विनायक निस्कने र ढुङ्गिनबाट लाँकुरी भन्ज्याङ पुगेर पुनः ढुङ्गिन फर्कने ट्रेलहरू छन् ।
११. इन्द्र दह
काठमाडौंको सीता पाइलाबाट भीमढुङ्गाहुँदै पुगिने इन्द्र दह नै दह चोक हो । सामुदायिक वनको बिचबाट जाने यो ट्रेलमा धादिङका केही ठाउँ र काठमाडौं उपत्यकाको रमणीय दृश्य देखिन्छ । कालु पाँडेको समाधि, शिव मन्दिर, स्वीट्जरल्याड पार्क आदि इन्द्र दह हाइकिङमा हेर्न पाइने खास ठाउँ हुन् ।
१२. तारकेश्वर महादेव
काठमाडौंको पश्चिमी क्षेत्रमा रहेको तारकेश्वर महादेव मन्दिरको हाइकिङ बालाजु बाइपासको तीनपिप्लेबाट सुरु हुन्छ । भुवनेश्वरी मन्दिरबाट पञ्च माने हेर्दै अगाडि बढ्दा तारकेश्वर महादेवको मन्दिर पुगिन्छ । शिवपुरी–नागार्जुन निकुञ्जभित्रको यो मन्दिरबाट हिमशृङ्खलासँगै काठमाडौं उपत्यका र त्रिशूली बजार देखिन्छ ।
१३. सुन्दरी जल
सुन्दरी जल वनभोज र घुमघामको लागि त्यसै पनि प्रसिद्ध छ । वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न वा पानीमा खेल्न पाइन्छ । सुन्दरी जलबाट मूल खर्क हुँदै ओख्रेनी जाने र चाँगुनारायणबाट सुन्दरी जल आउने चल्तीको हाइकिङ रुट छ । सुन्दरी जलबाट शिवपुरी या नगरकोट हाइकिङ पनि गर्न सकिन्छ ।
१४. पाँचपोखरी तथा जटा पोखरी
धार्मिक पर्यटनको हिसाबले चर्चित यो पोखरी समुन्द्र सतहबाट ४५ सय मिटरको उचाइमा रहेको छ । यस पोखरीको दर्शन गर्नाले आफूले चाहेको सन्तान प्राप्ति हुने रोग व्याधि नलाग्ने पशुचौपायमा एवं बालीनालीमा फलिफाप विश्वास रही आएको छ। खिम्ती खोलाको उद्गम स्थल पाँचपोखरी तथा जटा पोखरी पदयात्रा एवं दृश्यावलोकनको लागि पनि यो निकै उत्कृष्ट गन्तव्य हो । बाटामा भेटिने चौँरी गाई तथा याक र विभिन्न जडीबुटीहरू अन्य आर्कषणहरु हुन ।
१५. स्टोन पार्क
नाम जस्तै यस क्षेत्रमा स्टोन (ढुङ्गा)बाट कलात्मक ढङ्गबाट सजाइएको छ । जिरी नगरपालिकाको पूर्वी सिमाना स्यामाको पुम्पामा रहेको स्टोन पार्क निकै आकर्षक र मनमोहक छ । खिम्ति खोलाको चिसो हावा सँगै यहाँको स्थानीय माछाको स्वाद र आनन्द लिन सकिने स्टोनर्पाक पिकनिक र मनोरञ्जनको लागि उपर्युक्त छ ।
१६. तीन धारे झरना 
काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिकाको काफल डाँडा गाउँ नजिकै तीन धारे झरना पर्दछ । काभ्रेको नमो बुद्ध, दाप्चा, रोशीखोला, पिपलटार, नारायणटार, भुसुने, काफल डाँडा लगायतका बस्ती हेर्दै यात्रा गर्न पाइन्छ । चारैतिर हरियाली तथा खेतबारीमा लहलह झुलेका बालीले लोभ्याउँछ ।
काठमाडौंबाट भक्तपुर हुँदै धुलिखेल ३० किलोमिटर र धुलिखेलबाट बी.पी. राजमार्गको काभ्रे भन्ज्याङबाट नमो बुद्ध, दाप्चा हुँदै रोशी खोला पुल तरेर उकालो लागेपछि काफल डाँडा पुगिन्छ । र काफल डाँडाबाट १.५ किलोमिटरमा झरनासम्म पुग्न सकिन्छ ।
यो समाचार शेयर गर्नुहोस्
899SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?