रसुवा । चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।
सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
तीन महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहरदोहर गरिसकेको यसरी ओहरदोहर गर्नेको कूल सङ्ख्या पाँच हजार दुई सय ३६ महिलासमेत १० हजार छ सय ७७ जना रहेको बताइएको छ ।
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको रौनकता निकै बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा भने उत्साह बढ्दै गएको छ ।
रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका कारण दुई देशको सीमा क्षेत्रमा बसोबास गर्ने छिमेकी छिमेकी बीचको सम्बन्धसमेत थप प्रगाढ बन्दै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।
सीमा क्षेत्रका बासिन्दाका लागि रसुवा–केरूङ ओहरदोहर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरणसमेत सार्वजनिक भएको छ । गैररसुवालीलाई सीमा क्षेत्रका बासिन्दासरहको परिचयपत्र दिएको भनी स्थानीयबाट चर्को विरोध आएपछि वास्तविकतामाथि प्रष्ट पार्दै अध्यागमन कार्यालय टिमुरेले एक सय ५० जनालाई परिचयपत्र प्रदान भएको पहिलो विवरण उपलब्ध गराएको हो ।
बसाइँ सरी आएको कागजाँचका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ वटा नयाँ परिचयपत्र जारी भएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ वटा नवीकरण भएको अध्यागमन कार्यालयले जनाएको छ ।
विसं २०७२ पश्चात् भेटिएको तथ्याङ्कअनुसार हालसम्म नयाँ जारी, प्रतिलिपि एवं नवीकरण गरिएकोसमेत समग्रमा तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएको उक्त कार्यालयले जनाएको छ ।
भूकम्पकाले रसुवागढीमा रहेको अध्यागन कार्यालय पूरै दबिएका कारण त्यसभन्दा अगाडिका अभिलेख नष्ट भइसकेको जनाइएको छ । रसुवागढी क्षेत्रमा सवारीसाधनको चाप र पर्यटकको आगमन बढेसँगै सुरक्षा कार्यमा थप मजबुत पारिएको सुरक्षाकर्मीले बताएका छन् । रासस


































