काठमाडौं । विभिन्न आन्तरिक तथा अन्तर्राष्ट्रिय चुनौतीका बाबजुद नेपालमा विदेशी पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष पर्यटक आगमन ८१ हजारभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो वर्ष ११ लाख २८ हजार पर्यटक नेपाल आएका थिए ।
जेन–जी आन्दोलन, निर्वाचन, अन्तर्राष्ट्रिय भूराजनीतिक अस्थिरता तथा विभिन्न मुलुकमा जारी युद्धका बाबजुद नेपालमा पर्यटक आगमन सकारात्मक दिशामा अघि बढेको पर्यटन बोर्डको भनाइ छ ।
सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब २५.७६ प्रतिशत हो । त्यसपछि अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक आएका छन् ।
त्यस्तै, बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।
कात्तिकमा सबैभन्दा धेरै पर्यटक आगमन
तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा आएका छन् । उक्त महिनामा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक नेपाल आएका छन् ।
चालू वर्षमा थप वृद्धि हुने अपेक्षा
नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरेको छ । सरकारले घोषणा गरेको ‘आरोग्य पर्यटन वर्ष’, स्रोत बजारमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम तथा डिजिटल माध्यमबाट नेपालको प्रचार विस्तारका कारण पर्यटक संख्या बढ्ने बोर्डको विश्वास छ ।
बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले सरकार र निजी क्षेत्रको सहकार्य, अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन तथा हवाई पहुँच विस्तारका कारण नेपालको पर्यटन क्षेत्र पुनरुत्थान हुँदै दिगो वृद्धितर्फ अघि बढेको बताए ।
उनका अनुसार अब उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, पर्यटकको बसाइ अवधि बढाउने तथा परम्परागत बजारसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउने योजना रहेको छ ।
चीन, अमेरिका, अस्ट्रेलिया र बंगलादेशजस्ता सम्भावनायुक्त बजारमा नेपालको उपस्थिति बलियो बनाउन अन्तर्राष्ट्रियस्तरमा सेल्स मिसन तथा प्रवद्र्धनात्मक कार्यक्रम विस्तार गर्ने तयारीसमेत बोर्डले गरेको छ ।
































