काठमाडौँ। बल्खुस्थित कृषि तथा तरकारी बजारमा गएरातिदेखि परेको अविरल पानीका कारण बाढी पस्दा ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
बल्खु खोलामा राति २ बजेदेखि आएको बाढी बजारमा पस्दा ठुलो नगण्य मात्रामा क्षति भएको तरकारी बजार सञ्चालकहरूको भनाई छ । तरकारी बजारमा बाढी पस्दा बजार परिसरमा रहेको ५ किराना पसलबाट १ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारको खाद्यान्न र मरमसला पूर्ण रूपमा क्षति भएको छ । भने आधाउदी सामान पानी सँगै बगेर गएको उनीहरूको भनाई छ ।
ठुलो पानीको बहाव तरकारी बजारमा पसेर बग्ने ठाँउ नभएपछि दर्जनौँ तरकारी पसलबाट १ करोड बढीको ताजा तरकारी बाढीले बगाएको छ । बाढी बजारमा पस्नुअघि विभिन्न जिल्लाबाट उक्त बजारमा तरकारी भित्रिएको थियो ।
बाढीले पसल र तरकारी बजारमा भएका टेबल, कुर्सी, जोख्ने मेसिन देखि लिएर कम्पाउण्ड वाल भत्काउनुका साथै सटरहरू भत्किएका छन् १० वटा तरकारी बोक्ने ठुलो ट्रक र २० वटा मोटरसाइकल पनि बगाएको छ ।
बजारमा पुगेको क्षतिको बारेमा स्थलगत जानकारी लिन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी बल्खु जाने भएका छन् । बल्खु नजिकैको कुशेश्वरस्थित फलफूल र खाद्यान्नको होलसेल गोदाम र व्यापारिक प्रतिष्ठान पनि डुबानमा परेको छ । डुबानका कारण करोडौँ रुपैयाँ बराबरको खाद्यान्न, दाल, चिनी, गेडागुडी नष्ट भएको छ ।
‘बागमती खोलाको बाढीको भेलले गोदाम डुबानमा पर्दा सयौँ व्यवसायीको ठुलो क्षति भएको बताएका छन् । बागमती खोलाको कुलेश्वर बजारनजिकको खोलातर्फ भएको होचो भागबाट पानी तरकारी बजारमा भित्रिएको थियो । सरकारी स्वामित्वको कालीमाटी तरकारी बजारपछि बल्खु बजारबाट अत्यधिक परिमाणमा तरकारीको कारोबार हुने गर्दछ ।
प्रारम्भिक अध्ययन अनुसार तीन करोड बढीको क्षति पुगेको छ । व्यवसायीहरूले आफ्नो सम्पूर्ण चिज गुमेको भन्दै रुवाबासी गरेका छन् । के कति क्षति भएको भन्ने यकिन जानकारी आउन नसकेपनी आफूहरूको सम्पूर्ण लगानी र आम्दानी गुमेको व्यवसायीहरूको भनाई छ ।


































