काठमाडौं । बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई सरकारले क्षतिपूर्ति बापत १०-१० लाख रुपैयाँ दिएको छ ।
मन्त्रिपरिषद्को पुस १४ गतेको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०-१० लाख रुपैयाँ प्रदान गरिएको हो ।
पुस महिनाको १३ गते रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।
सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो ।
घटनापछि सरकारले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

































