काठमाडौँ। काठमाण्डौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख भन्दा बढीको क्षति भएको जनाएको छ ।
शुक्रवार राजसंस्था पक्षधरको प्रदर्शनमा आएकाहरूले सुपरमार्केटमा तोडफोड गर्दै लुटपाट गरेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुकाअनुसार लुटपाट गर्नेमा एक जना भारतीय नागरिक पनि छन्।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार उक्त तोडफोडसँगै ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ।
त्यस्तै, भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेको छ ।
भवनमा ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। साथै दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको जनाइएको छ ।
काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको सुपरमार्केट्सले जनाएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहकालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।




































