काठमाडौं । नेपालकै ठूलो खुद्रा व्यापारिक सञ्जालमध्ये एक भाटभटेनी सुपरस्टोरले ग्राहकलाई चौबिसै घण्टा सेवा दिने तयारी गरेको छ । कम्पनीले सोमबारदेखि भक्तपुरको राधेराधेस्थित स्टोरबाट चौबिसै घण्टा सञ्चालन सुरु गर्न लागेको हो ।
कम्पनीका अनुसार सुरुवाती चरणमा काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा रहेका एक–एक स्टोरलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइनेछ । भक्तपुरको स्टोर सञ्चालनमा आएको करिब एक सातापछि ललितपुरको कृष्णगल्लीस्थित स्टोर र त्यसपछि भदौको तेस्रो साताबाट काठमाडौंको टंगालस्थित स्टोरलाई पनि चौबिसै घण्टा खुला राख्ने तयारी छ ।
चौबिसै घण्टा सञ्चालन हुने स्टोरमा पहिलो तला मात्र खुला रहनेछ । उक्त तलाबाट मुख्यतः खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ । रातको समयमा पनि सेवा सञ्चालन हुने भएकाले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ भने प्रहरी प्रशासनलाई समेत जानकारी गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीले उपत्यकाका तीन स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि पोखरास्थित एक स्टोरलाई पनि यही ढाँचामा सञ्चालन गर्ने योजना बनाएको छ । यसबाट विशेषगरी रातिको समयमा यात्रा गर्ने तथा आकस्मिक रूपमा दैनिक उपभोग्य सामग्री आवश्यक पर्ने ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ ।
करिब ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु भएको भाटभटेनीको व्यवसाय अहिले देशका विभिन्न स्थानमा विस्तार भएको छ । कम्पनीका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा रहेका छन् । कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको र आफ्ना स्टोरमार्फत २२ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । ठूलो आर्थिक क्षति व्यहोरे पनि कम्पनीले कर्मचारीको रोजगारीलाई निरन्तरता दिँदै पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।


































