काठमाडौं । कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता अपारदर्शी भएकाे किसान संघसंस्थाले बताएका छन् । किसानको हकहितमा काम गर्ने ९ संघसंस्थाले कालिमाटी र बालाजु तरकारी बजार भाडा सम्झौताको पारदर्शितामाथि प्रश्न उठेको बताएका हुन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय किसान सञ्जालले प्रतिस्पर्धा बिनै भाडामा लगाईएको बजारको सम्झौता पारदर्शितामा गम्भीर प्रश्न उठेको बताएका हुन् । साथै उनिहरूले एकहप्ता भित्र सम्झौता नसच्याए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
बजारका स्टलहरु किसानलाई उपलब्ध गराउन र किसान छनोटमा पारदर्शिता अपनाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरिएको सञ्जालले बताएको छ ।
सञ्जालका संयोजक गणेश तिमल्सिनाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आम किसानका आवाजलाई वेवास्ता गरि सरकारी निकायबाटै किसानसँग सरोकार राख्ने सरकारको सम्पत्तिको प्रयोग अनुचित तवरले हुन गएको छ, यसबाट सरकारी निकायको सुशासन, पारदर्शिता, उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठेको छ । एक हप्ताभित्र बजार सम्झौता नसच्याए आन्दोलन गर्न बाध्य हुनेछौं ।’
त्यस्तै सञ्जालले लम्पी स्किन महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी समन्वय नगर्दा किसानले ठूलो क्षति बेहोर्नुपरेको पनि बताएको छ ।
सञ्जालमा अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, नेपाल पिछडावर्ग किसान महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कृषक समूह महासंघ छन् । यस्तै राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ , राष्ट्रिय भूमि अधिकार मञ्च र फियान नेपाल आबद्ध छन् ।


































