काठमाडौं । कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा तिनको लगानी सुरक्षित गरी केही हदसम्म भए पनि जोखिम बहन गर्न सकियोस भन्नका लागि सुरुवात गरिएको बीमा पोलिसि नै कृषि तथा पशुपंक्षी बीमा हो ।
बीमाको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले बि.स. २०६९ साल माघ १ गते बाली तथा पशुपंक्षी बीमा निर्देशन–२०६९ जारी गर्दै औपचारिक रूपमा कृषि तथा पशुपक्षी बीमाको सुरुवात गरेको थियो ।
यसै अनुरूप निर्जीवन बीमाको क्षेत्रमा काम गर्दै आएको सानिमा जीआइसीले पनि यो बीमा पोलिसी बिक्री गर्दै आइरहेको छ । यो बीमा पोलिसी कम आय भएका किसानहरूलाई लक्षित गरी ल्याइएको सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपंक्षी बीमा विभाग हेर्ने विवेक सेढाईको भनाई छ ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै उनले भने, ‘नेपालको आधा भन्दा बढी जनशक्ति कृषि तथा पशुपक्षी पालनको पेसामा लागेका छन् । प्राकृतिक तथा मौसमी प्रकोपका कारण यस पेसामा लागेका मानिसहरूको लगानी खेर जाने हुन्छ । यसका साथै कृषि व्यवसायलाई सुरक्षित र व्यावसायिक बनाउनको लागि बीमा प्राधिकरणले यस्तो बीमा पोलिसिको सुरुवात गरेको हो ।’
उनले अगाडी थपे, ‘यो बीमामा कृषि तथा पशुपक्षी ब्यवसायीहरुको आकर्षण बढाउनको लागि सरकारले कृषि तथा पशुपन्छी बीमामा अनुदान उपलब्ध गराउने निर्देशिका नै जारी गरेर ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था समेत दिने गरेको छ ।’
सेढाईका अनुसार सरकारले अहिले यस्तो बीमा पोलिसीमा तीन वटा स्ल्याबमा अनुदान दिँदै आएको छ । जसमा ५० लाख रुपैयाँसम्म बीमांक रकम बराबरको खेती बाली तथा पशुपन्छी बीमा गर्दा त्यसको ८० प्रतिशत अनुदान दिने, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको बीमांक रकम बराबरको बीमा गर्दा ६५ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको छ भने ५० प्रतिशतसम्म अनुदान दिने गरेको छ ।
यो बीमा पोलिसे कृषि वाली अन्तर्गत सबै प्रकारका वाली तथा फलफूलहरूसँगै मोरी पालन व्यवसाय र पशुपक्षीतर्फ कुखुरा, गाईबस्तु, माछा पालन र जडीबुटी अन्तर्गत टिमुर र मेन्थाहरुलाई बीमा कभरेज प्रदान गर्ने सेढाईले बताए ।
यो बीमा पोलिसीमा अरू पोलिसीजस्तो दाबी भुक्तानी प्रक्रिया पनि झन्झटिलो नभइको उनको भनाई छ । दाबी भुक्तानीको लागि तोकिएको फर्म भर्ने वित्तिक्कै दाबी भुक्तानी पाउन सकिने सेढाईले बताए ।
‘बीमा गर्न सजिलो तर दाबी भुक्तानी प्रक्रिया गारो छ भन्ने मान्यता बीमा क्षेत्रमा छ तर यो बीमा पोलिसीको दाबी भुक्तानी प्रक्रिया पनि त्यति गाह्रो छैन । वडा तथा नगरपालिकाको टोलीले गरेको सिफारिस तथा क्षतिको विवरण देखिने गरी तयार पारिएको फोटो तथा भिडियो सहित तोकिएको फर्म भरेर सजिलै दाबी भुक्तानी लिन सकिन्छ । तर पशुहरूको हकमा भने बीमा गर्दा लगाइएको ट्याग भने अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ ।’ सेढाईले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भने ।


































