काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाहले देशका नागरिकले स्वदेशमै उत्पादन भएका तरकारी उपभोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले केही राजनीतिक व्यक्ति र बिचौलियाको मिलेमतोका कारण किसानहरू अन्यायमा परेको र विदेशी तरकारीको प्रयोग बढाइएको बताए ।
उनका अनुसार नेपाली किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता हो । उनले किसानलाई न्यायोचित मूल्य उपलब्ध गराउन नसक्दा कृषि क्षेत्र कमजोर बन्दै गएको बताए ।
चितवनका किसानहरूले उत्पादन गरे पनि बजार र मूल्य दुवै नपाउने समस्या रहेको उल्लेख गर्दै उनले सीमित समूहको नियन्त्रणका कारण कृषि क्षेत्रमा विकृति देखिएको दाबी गरे । अनुदानको नाममा बाहिरी उत्पादनलाई सस्तो देखाएर स्वदेशी उत्पादन महँगो भएको भ्रम सिर्जना गरिएको उनको भनाइ थियो । यस्तो प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।


































