काठमाडौं । केडिया अर्गनाइजेसन अन्तर्गत रहेको केडिया इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा प्रवर्द्धन गर्दै आएको प्रिमियम विद्युतीय बाइक "अल्ट्राभोइलेट एफ७७" को टेस्ट राइड कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले शनिबार काठमाडौंदेखि ककनीसम्मको एकदिने बाइक राइड आयोजना गरेको थियो।
कार्यक्रममा २५० सीसी भन्दा माथिका विभिन्न ब्रान्डका करिब २५ बाइक सवार राइडरको सहभागिता रहेको थियो। अफरोड र अनरोड दुवै भेग समेट्ने गरी आयोजना गरिएको यस यात्राको मुख्य उद्देश्य विद्युतीय बाइकको प्रयोगलाई प्रोत्साहन गर्नु र नेपालको ऊर्जा नेपालमै खपत गर्ने सन्देश दिनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले अल्ट्राभोइलेट एफ७७ बाइक चलाएर यसको प्रदर्शन तथा क्षमता प्रत्यक्ष अनुभव गरेका थिए।
अल्ट्राभोइलेट एफ७७ बाइकको नेपाली बजार मूल्य १० लाख ७५ हजार रुपैयाँ तोकिएको छ। एक पटकको फुल चार्जमा ३२३ किलोमिटरसम्म यात्रा गर्न सक्ने एफ७७ मा १०.३ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। यसमा स्ट्यान्ड सेन्सर, हिल होल्ड, ट्र्याक्सन कन्ट्रोल, डुअल च्यानल एबीएस, डाइनामिक स्ट्याबिलिटी कन्ट्रोल, एलईडी डिस्प्ले, राइड मोड लगायतका प्रविधियुक्त फिचर समावेश छन्।
कम्पनीले एफ७७ को ब्याट्रीमा ८ लाख किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ। साथै, यो बाइक डीसी फास्ट चार्जरसमेत सपोर्ट गर्छ, जसले छोटो समयमा चार्ज गर्न सकिन्छ।
नेपालमा पेट्रोल बाइकको आयातबाट विदेशी मुद्रा बाहिरिनुका साथै प्रदूषणका समस्यालाई कम गर्न विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य भएको र अल्ट्राभोइलेट एफ७७ यस्तो संक्रमणको उपयुक्त विकल्प बन्न सक्ने कम्पनीले विश्वास लिएको छ ।





































